साइकल उपहार : गाउँकी छोरीका लागि शिक्षामा पुग्ने आधार
  • Rajan Nepal, Executive Director, JWAS

जनकपुरधाम, असार १७ गते ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारको श्रीराष्ट्रिय माध्यमिक विद्यालयकी छात्राहरुको एउटै स्वर थियो - "अब म पनि समयमै विद्यालय पुग्छु ।"

त्यस विद्यालयका ५० जना छात्राहरुलाई साइकल उपहार दिइएको छ, जसको उद्देश्य उनीहरूको विद्यालय शिक्षामा पहुँच र निरन्तरता सुनिश्चित गर्नु हो।

साइकल वितरण कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जित नारायण यादव, विद्यालयका प्रधानाध्यापक हिरा लाल साह, अन्य शिक्षक तथा अभिभावकहरू र जानकी महिला जागरण समाजका अध्यक्ष मन्दा कर्ण, कार्यक्रम निर्देशक राजन नेपाल, कार्यक्रम व्यवस्थापक विष्णु भण्डारी सहितका व्यक्तिहरूको सहभागिता रहेको थियो।

साइकल वितरण कार्यक्रममा छात्राहरू त आएकै थिए साथै उनीहरूका अभिभावक पनि सँगै आएका थिए। आफ्ना छोरीहरूले साइकल पाएपछि अभिभावकहरू पनि खुसी देखिन्थे।

अब साइकल प्राप्त गरेपछि घन्टौ हिँडेर आउनुपर्ने बाध्यता समाप्त हुने भएको छ। यसबाट समयको बचतसँगै अध्ययन अध्यापनका लागि थप समय प्राप्त हुने र त्यसबाट अध्ययन अध्यापनमा महत्वपूर्ण सहयोग मिल्ने प्रतिक्रिया साइकल प्राप्त गर्ने छात्राहरूले दिए।

'Send a Girl to High School with a Bicycle Gift' नामक अभियान अन्तर्गत जानकी महिला जागरण समाज (JWAS) ले हालसम्म धनुषाको १३ रौतहटका १ समेत गरी १४ वटा सार्वजनिक विद्यालयका ६ सय ५१ छात्राहरुलाई साइकल वितरण गरिसकिएको छ।

यस संस्थाको २४ औं स्थापना दिवसको अवसरमा २०७३ साल बैशाख २५ गतेदेखि सुरु भएको साइकल वितरण कार्यक्रम निरन्तर चल्दै आएको छ । सरकारी तथा सामुदियक विद्यालयका कक्षा ६ देखि ११ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी गरिएको यो कार्यक्रमले शिक्षामा पहुँच, महिला सशक्तिकरण र सामाजिक न्याय र समानता प्रवर्द्धन गर्नतर्उफ उन्मुख छ।

अभियानकै निरन्तरता स्वरूप पछिल्लो पटक वीरेन्द्रनगरको श्री राष्ट्रिय माध्यमिक विद्यालयका ५० जना छात्रहरूलाई वितरण गरेको यो साइकल वितरण कार्यक्रममा Vicente Ferrer Stiftung (VFS) जर्मनीले सहयोग गरेको हो ।

यस अभियानको मूल मर्म भनेको हाम्रा छात्राहरूका लागि साइकल केवल यातायातको गुडने साधन मात्र नभर्इ शिक्षा, सशक्तिकरण र आत्मविश्वासको पांग्रा पनि हो ।

सुदूर बस्तीका किशोरीहरू विद्यालय पुग्न घण्टौं हिंड्न बाध्य थिए। थकान, असुरक्षा र लाजले उनीहरू विद्यालय जानबाट बञ्चित हुँदै आएका थिए। अब यही साइकल उनीहरूका लागि नयाँ बिहानको आरम्भ भएको छ।

संस्थाकी अध्यक्ष मन्दा कर्ण ले भन्छिन् "साइकल वितरणले समाधानको ढोका खोलेको हो, अब त्यस ढोकाबाट अघि बढाउने वातावरण बनाउनु हाम्रो अर्को चुनौती हो।"

जानकी महिला जागरण समाजकी अध्यक्ष थप्छिन् - "बालिका शिक्षाको दुर्गम बाटोमा साइकल एकजना साथी बनिदिएको छ।"

संस्थाको कार्यक्रम व्यवस्थापक विष्णु भण्डारी भन्छन् "साइकल उपहार दिएर शिक्षाको ज्योति बढार्इ न्यूत्तम माध्यमिक शिक्षा आर्जन र त्यसको निरन्तरता गर्नेतर्फ छात्राहरुलाई उन्मुख गराउने प्रत्यक्ष उद्देश्य भएपनि यसको रणनीतिक उद्देश्य बालबिवाह अन्त्य गर्नु हो"

नयाँ सामाजिक चेतना बिना दीगो परिवर्तन सम्भव नहुने बताउँदै भण्डारीले यस अभियानले किशोरीहरुको क्षमता र सशक्तिकरणमा प्रोत्साहन भई थप चेतना बिस्तारमा बल मिल्नेछ र यो साइकल अभियान शब्दमा भन्दा बढी कर्ममा आधारित परिवर्तनको कथा बन्नेछ ।

मधेश प्रदेश सरकारको "बेटी बचाउ बेटी पढाउ" कार्यक्रमलाई समेत यस साइकल वितरण कार्यक्रमले सहयोग पुर्‍याएको छ । दुई वर्षअघिसम्म मधेस प्रदेश सरकारले पनि साइकल वितरण कार्यक्रम गर्दै आएको थियो तर हाल त्यो स्थगित छ। यस्तो कार्यक्रम स्थगित भएको बखत जानकी महिला जागरण समाजबाट भइरहेको साइकल कार्यक्रमले थप सहयोग पुर्‍याएको छ। साथै बेटी अर्थात् छोरीलाई पढाउने कार्यमा सहयोग पुर्‍याएको छ ।

Related Posts